ad

Tuesday, October 2, 2018

मिर्गौलाको पत्थरी रोक्ने हिसाबः ३ लिटर पानी, अढाई लिटर पिसाब

१७ असोज, काठमाडौं । कुनै एक विषयमा ‘सुपर स्पेसियलाइजेसन’ गरेका थोरै नेपाली डाक्टरमध्ये एक हुन् मुत्ररोग विशेषज्ञ तथा प्रत्यारोपण विशेषज्ञ डा. नारायण भुसाल । हाल उनी धापाखेलस्थित सुमेरु अस्पतालमा सेवारत छन् ।

फिलिपिन्सस्थित सेबु इन्स्टिच्यूट अफ मेडिसिनबाट एमबीबीएस गरेका भुसालले त्यसपछि परपेक्च्युअल सोकरबाट सर्जरी पढे । फिलिपिन्सकै नेसनल किड्नी एन्ड ट्रान्सप्लान्ट इन्सटिच्यूटबाट युरोलोजीसम्बन्धी ६ वर्षे विशेष तालिम (नेपालको एमसीएच तह) पूरा गरेपछि उनी स्वदेश फर्किएका थिए ।
सुरुको करिब दुई वर्ष भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण विशेषज्ञको रुपमा बिताएका डा. भुसाल केही महिना अगाडि मात्र सुमेरु अस्पताल आएका हुन् । उनी भन्छन्, ‘बदलिदो जीवनशैली, गलत खानपान तथा डिहाइड्रेसनका कारण आजकल मिर्गौला रोगको जोखिम बढ्दै गएको छ । तर अब मुत्र रोग तथा मिर्गौलासम्बन्धी रोगकै कारण नेपालमा कसैले ज्यान गुमाउनु नपर्नेमा उनी आशावादी छन्


प्रस्तुत छ, डा. भुसालले मिर्गौलाको पत्थरीमा केन्द्रित रहेर अनलाइनखबरसँग व्यक्त गरेको विचारः
सामान्यतया मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निस्कासन गर्नु हो । तर कहिलेकाहीँ शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिड लगायतका विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ ।

यसबाहेक, अन्य विभिन्न कारणले पनि मिर्गौलामा पत्थरी हुने गर्छ । जसमध्ये शरीरमा पानीको कमि प्रमुख हो । शरीरमा पानीको कमी भएमा मिर्गौलाले विषाक्त बाहिर निकाल्न सक्दैन र त्यो पत्थरीको रुपमा विकसित हुन्छ । रातो मासु लगायत प्रोटिनयुक्त खानेकुराको सेवन, शारीरिक कसरतको कमी, युरिक एसिड तथा पिसाबको नलीको संक्रमणका कारण पनि मिर्गाैलाको पत्थरी हुने गर्छ । कयौंमा प्रोस्टेट ग्रन्थीका कारण पनि यो समस्या आउने गरेको छ ।

नेपालमा एकिन तथ्यांक नभए पनि ३० देखि ६० वर्षका व्यक्तिमा मिर्गौलाको पत्थरी धेरै देखिने गरेको छ । तर, त्यसो भन्दैमा बच्चा वा वृद्धवृद्धालाई नहुने भने होइन । बच्चाहरुको हकमा जन्मदै मुत्रनलीमा अवरोध भएमा वा मुत्रनली साँघुरो भएमा, पिसाबमा पटक–पटक संक्रमण भएमा, हाइपर प्याराथाइराइडिज्म भएका व्यक्तिको रगतमा क्याल्सियमको मात्रा बढी भएमा, शरीरमा युरिक एसिड धेरै भएमा मिर्गौलाको पत्थरी हुन सक्छ ।
खाडी मुलुकमा काम गर्ने कामदारहरुमा त्यहाँको वातावरण तथा पानीको कमीका कारण मिर्गौलाको पत्थरी अत्यधिक हुने गरेको पाइन्छ ।

पानी नै रामवाण

मिर्गौलामा पत्थरीबाट जोगिने मुख्य उपाय भनेको प्रशस्त पानी पिउनु र बारम्बार पिसाब फेर्नु हो । मिर्गौलाले निकालेको पिसाबले तुरुन्तै निष्कासन पायो भने पत्थरी हुने सम्भावना क्षीण बन्छ । जबकि पिसाबमा कुनै अवरोध आयो वा रोकियो भने खतरा हुन्छ ।

बढीभन्दा बढी पिसाब निकाल्नका लागि बढी पानी पिउनै पर्छ । दिनमा कम्तीमा तीन लिटर पानी पिउने हो वा साढे दुई लिटर पिसाब निकाल्ने हो भने मिर्गौलाको पत्थरी हुने जोखिम स्वतः न्यून हुन्छ ।

यसबाहेक, फाइबरयुक्त खानेकुरा तथा ताजा फलफूलको सेवन, खानामा एनिमल फ्याट तथा प्रोटिनको मात्रा घटाएर तथा नुनको सेवन कम गरेर पनि जोखिम घटाउन सकिन्छ ।

पत्थरी कति जटिल ?

पत्थरी भएमा पिसाब नलीमा अवरोध भई मिर्गौलाको संक्रमण हुने तथा बिग्रने गर्दछ । मिर्गौला बिग्रने बिभिन्न कारणहरुमध्ये मधुमेह प्रमुख मानिन्छ । त्यसबाहेक उच्च रक्तचाप तथा संक्रमणका कारण पनि मिर्गौला विग्रने गर्दछ । पत्थरीका कारण मिर्गौला विग्रने सम्भावना भने न्युन (करिब दुई प्रतिशत) हुन्छ तर, नेपालमा यो निकै महत्वपूर्ण छ ।

विदेशमा शंका लाग्नासाथ वा शरीरको कुनै भाग दुख्नासाथ विरामी अस्पताल पुग्ने गर्छन् । तर नेपालमा भने मानिसहरु दुखाई कम गर्न पेनकिलर औषधि खान्छन् । यस्ता पेनकिलरले उक्त दुखाई तत्काललाई कम गरे पनि रोग निको पार्दैन । र, जब त्यसले मिर्गौलालाई क्रमशः असर गर्दै लैजान्छ, मिर्गौला सुन्निदै जान्छ । र, एउटा क्षण त्यस्तो पनि आउन सक्छ, जब दुवै मिर्गौलाले काम गर्न छोड्छन् । नेपालमा अधिकांश विरामी मिर्गौलाले काम गर्न छोडेपछि मात्र अस्पताल पुग्छन् ।

यसको कारण के पनि हो भने एउटा मात्र मिर्गौलामा पत्थरी भएमा त्यसको खासै लक्षण देखिँदैन । तर पत्थरीका कारण मिर्गौला पाक्यो वा दुवै मिर्गौलाले काम गर्न छोड्यो भने मात्र लक्षण देखापर्छ ।

पत्थरीका प्रकार

मिर्गौलाको पत्थरी विभिन्न कारणले हुन्छन् । करिब दश प्रतिशत पत्थरी युरिक एसिडको कारण हुने गर्छ भने ५०–६० प्रतिशत पत्थरी क्याल्सियम अक्सालेट भन्ने तत्वले गर्दा हुन्छ ।

त्यसबाहेक संक्रमणका कारण स्टुवाइड स्टोन भन्ने पत्थरी विकसित हुने गर्छ भने विभिन्न औषधीको प्रयोगका कारण पनि पत्थरी हुने गर्छ । यस्तो पत्थरी म्याग्नेसियम एमोनियम फोस्फेट भन्ने तत्व मिलेर बनेको हुन्छ ।

दुवै मिर्गौलामा पत्थरी

सामान्यतया पत्थरी एउटा मिर्गौलामा मात्र हुने गर्छ । तर, कहिलेकाहीँ दुवै मिर्गौलामा एकैपटक देखिन सक्छ । यस्तो हुँदा दुवै मिर्गौलामा अवरोध भएर पिसाब बग्न रोकिन्छ । पिसाब नभएमा जटिल सम्भावना निम्तिने गर्छ । तर दुवै मिर्गौलामा पत्थरीको समस्या नगण्य मात्रामा हुन्छ ।

झापाका एक ४० वर्षे व्यक्ति केही समयअघि अस्पताल आएका थिए । दुवै मिर्गौलामा भएको पत्थरीका कारण उनको शरीरमा क्रियाटिनको स्तर २४ उक्लेको रहेछ । पत्थरीका कारण उनको दुवै मिर्गौला फेल भएको पाइयो । उनलाई केही समयका लागि डायलासिसमा समेत राखिएको थियो । हाल उनको दुवै मिर्गौलाको शल्यक्रिया भैसकेको छ भने क्रियाटिनको स्तर समेत २४ बाट ४ मा झरेको छ । अहिले उनलाई डायलासिसको आवश्यकता छैन ।

‘क्रोनिक रिनियल फेलियर’ भएमा मात्र मिर्गौलाको डायलासिस गर्नुपर्छ । मधुमेह तथा उच्च रक्तचापका विरामीलाई यो समस्या धेरै हुन्छ । यस्ता बिरामीको मिर्गौला क्रमशः बिग्रदै गएर खुट्टा सुन्निने, सास फेर्न समस्या हुने भएमा उनीहरुलाई डायलासिसको आवश्यकता पर्दछ ।

पत्थरीका कारण एउटा मिर्गौलामा अवरोध भएमा क्रियाटिनको मात्रा अचानक उच्च हुने गर्छ । त्यस्ता व्यक्तिको हकमा डायलासिसको सट्टा ड्रनेज, इन्टरभेन्सन लगायतका विभिन्न विधि अपनाइन्छ । तर कहिलेकाहीँ पत्थरीका कारण दुवै मिर्गौला फेल भएमा भने त्यस्ता व्यक्तिलाई केही समयका लागि डायलासिसमा राख्नु पर्छ ।

जब लक्षण देखिँदैन

पत्थरी मिर्गौलाभित्र पनि हुनसक्छ, बाहिर पनि । तर अक्सर पत्थरी मिर्गौलाभित्र नभएर पिसाब नलीमा हुन्छ । पत्थरीका कारण पिसाब बग्ने नलीमा अवरोध सिर्जना भएमा असह्य पीडा हुन्छ ।

तथापि, सबै पत्थरीको लक्षण देखिँदैन । कुनै–कुनै पत्थरी आकारमा त ठूलो हुन्छ तर त्यसले पिसाबको नलीमा जरा गाडेर बसेको हुनाले पिसाबलाई रोक्दैन । त्यसैले यसको कुनै लक्षण नदेखिन पनि सक्छ । लक्षणविना पनि पत्थरीले बिभिन्न किसिमको संक्रमण निम्त्याउन सक्छ । विशेषगरी पिसाब नलीमा व्याक्टेरियाका कारण संक्रमण हुन सक्छ । उक्त संक्रमणका कारण मिर्गौलामा असर परिरहेको हुन्छ ।

एकपटक मिर्गौलामा पत्थरी भएका व्यक्तिलाई दोहोरिने सम्भावना उच्च हुन्छ । त्यसैले एकपटक पत्थरी भएका व्यक्तिले यसको कारण र रोकथामका उपायबारे राम्ररी जान्न आवश्यक छ । अधिकांश व्यक्तिमा पाँच वर्षको दौरान अर्को मिगौलामा पत्थरी हुने सम्भावना उच्च हुने गर्छ ।

नेपालमा उपचारको अवस्था

मिर्गौला सम्बन्धी रोगको उपचारमा फड्को मार्ने देशहरुमध्य नेपाल प्रमुख हो । उच्चस्तरीय प्रविधि, आधुनिक उपकरण लगायतको प्रयोगद्वारा नेपालले मिर्गौला रोगको उपचारमा निकै प्रगति गरेको छ । आधुनिक प्रविधिद्वारा जस्तोसुकै पत्थरीको पनि उपचार नेपालमा सम्भव छ ।



मिर्गौलामा हुने पत्थरीको प्रकृतिका आधारमा त्यसको उपचार फरक हुने गर्छ । विशेषगरी ६ एमएमसम्मको पत्थरीमा खासै उपचार आवश्यक पर्दैन । जबकी १५ एमएमभन्दा माथिको पत्थरी भने निकाल्नु राम्रो हुन्छ ।

पत्थरी विभिन्न तरीकाले निकाल्न सकिन्छ । यदि कुनै पत्थरी युरिक एसिडका कारण विकसित भएको हो भने त्यसलाई औषधीद्वारा पगालेर पनि सजिलै निकाल्न सकिन्छ । यदि कुनै पत्थरी दुई सेन्टिमिटरको छ र त्यसले पिसाबमा अवरोध गरेको छ भने भित्रै फुटाएर हटाउन सकिन्छ ।

त्यस्तै, कयौ पत्थरीलाई मिर्गौलामा प्वाल बनाएर पनि निकाल्न सकिन्छ, जसलाई चिकित्सकीय भाषामा ‘पीसीएनएल’ प्रविधि भनिन्छ । पछिल्लो समय यो प्रविधि नेपालमा निकै प्रचलित छ । त्यसबाहेक, कुनै–कुनै अवस्थामा चिरेर पनि पत्थरी निकाल्ने गरिन्छ । यस्तो अहिले कमै हुन्छ ।

तर यदि पत्थरीका कारण मिर्गौला पातलिँदै गएको छ वा बेलुन जस्तो फुलेको छ भने अथवा संक्रमण भई पिप जमेको छ भने त्यस्तो अवस्थामा शल्यक्रियाद्वारा मिर्गौला नै निकाल्नु पर्ने अवस्थासमेत सिर्जना हुन सक्छ ।

यो पनि जानौं

यदि मिर्गौलामा युरिक एसिडका कारण पत्थरी भएको छ भने त्यस्ता पत्थरी एक्सरेमा देखिँदैन तर, अल्ट्रासाउण्डमा देखिन्छ । यस्ता पत्थरी औषधीद्वारा पगाल्न सकिन्छ ।

तर पत्थरी ६ एमएमभन्दा कम छ र त्यसले खासै दुःख दिएको छैन भने त्यसलाई नचलाउँदा पनि फरक पर्दैन । तथापि, उक्त पत्थरी पाँच–सात वर्षभन्दा पुरानो भएमा त्यसलाई हस्तक्षेप गर्न जरुरी छ ।