ad

Tuesday, September 25, 2018

कालीगण्डकीको मर्मत छिटो गर्न कुलमानले दिए निर्देशन, दैनिक तीन करोड ५० लाख घाटा

कालीगण्डकीको मर्मत छिटो गर्न कुलमानले दिए निर्देशन, दैनिक तीन करोड ५० लाख घाटा

काठमाडौँ । सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत परियोजना कालीगण्डकी जलविद्युत आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण गरेको छ ।
आयोजना यही असोज ७ गतेदेखि बन्द नै गरेर मर्मत शुरु गरिएको छ । मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ ।
कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भएपनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
मर्मतको बारेमा जानकारी लिन आज आयोजनास्थल पुग्नुभएका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक तथा कर्मचारीलाई आग्रह गरेका हुन् ।
हाल आयोजना पूर्णरुपमा बन्द गरिएको छ । यस्तै यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिनेछ ।
आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात २५ दिन लाग्ने छ ।
देशकै ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा समस्या पर्नेछ ।
आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
यही असोज ७ गतेदेखि नै मर्मत शुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफैंले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणको भनाइ छ ।
हिउँदको समयमा मर्मत गर्दा देशव्यापीरुपमा नै विद्युत् उपलब्ध गराउन समस्या पर्ने भएकाले वर्षाको समयमा नै आयोजना बन्द गरेर मर्मत थालिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
आयोजनाको नियमित मर्मत गर्नुपर्ने कार्यसूचीअनुसार नै मर्मत गरिएको जानकारी दिँदै उहाँले दशैँ तिहारजस्ता ठूला चाडबाडको बीचमा पार्दा विद्युत् आपूर्तिमा समस्या नहुने बताए ।
विशेष गरी विद्युत् उत्पादन गर्ने मेशिनको भल्भमा समस्या देखिएको थियो । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।

No comments:

Post a Comment