ad

Tuesday, August 28, 2018

आईजीपी खनाल भन्छन्– प्रहरी मजबुत भएको छ, अपराध घटेको छ


१२ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा अपराधका घटनामा कमी आएको र नेपाल प्रहरी मजबुत हुँदै गएको बताएका छन् । समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने खनालको तर्क छ ।
कुनै व्यक्ति दोषी हो कि होइन भन्ने विषयमा प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै महानिरीक्षक खनालले भने ‘बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?’

कञ्चनपुर घटनाको प्रशंगमा कुरा गर्दा आइजीपी खनालले मानसिक रोगीले कुनै अपराध गर्न सक्दैन भनेर अनुमान लगाउन नमिल्ने बताए ।
‘प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन’, आईजीपी खनालले भने, ‘अहिले प्रहरीले गर्ने अनुसन्धानमा शंकास्पद मान्छेको स्टेटमेन्ट नै लिइएन भने कोसँग जाने त ?’
आइजीपी खनालले एआईजीहरुको बढुवामा ढिलाइ नभएको बताए । उनले कुनै पनि प्रहरीको प्रमोशन नेतालाई भेटेका आधारमा नभएर उसको कार्यक्षमताका आधारमा गरिने बताए ।
सामयिक विषयमा आईजीपी खनालसँग अनलाइखबरले गरेको कुराकानीः
अहिले प्रहरी संगठन कमजोर हुँदै गएको हो ?
विल्कुलै होइन । धेरै मजबुद भएर गएको छ । पहिले भएका कमजोरीहरु पनि सबै ट्रयाकमा आएका छन् । यसको अनुभूति नै भएको छ नि । तर, सामाजिक रुपमा भएका घटनाहरुलाई लिएर मानिसहरुले प्रश्नहरु उठाएको हुन सक्छ ।
तर, अपराध अनुसन्धानमा प्रहरीको लापरवाही देखिन थाल्यो भन्ने गुनासाहरु आएका छन्, यस्तो किन भएको ?
प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन । कसैले गर्न जरुरी पनि छैन । अहिले प्रहरीले गर्ने अनुसन्धानमा कसैलाई आएका सबुद प्रमाणका आधारमा हेर्दै गरेर जाने हो । कोही मान्छेलाई शंकास्पद छ र स्टेट्मेन्ट नै लिइएन भने कोसँग जाने त ? स्टेटमेन्टका आधारहरु पनि भेरिभाई गर्नुपर्ने हुन्छ । तर, यो अपराधी होइन, योचाहिँ हो भन्न त अरुको कसरी अधिकार होला र फेरि ? बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?
कञ्चनपुरको हकमा प्रहरीले गरेको अनुसन्धानमा सीआइबीको टोली पनि टाइममै गएको छ । त्यसलाई एकदमै उच्च प्राथमिकता दिएरै हेरेको छ ।
कुनै प्रहरीले काहीँकतै गडबडी गरेको भए स्पष्टरुपमा ठाउँको ठाउँ कारवाही हुन्छ । यसमा नेपाल प्रहरी संगठनको कमजोरी छ भन्ने मलाई लाग्दैन ।
कञ्चनपुरको केसमा प्रहरीले आलोचित हुनुपर्‍यो नि, हैन ? यद्यपि, सरकारले एसपीलाई निलम्बन गरिसक्यो । तपाईहरुले डीएसपी र इन्स्पेक्टरलाई हेडक्वार्टरमा तानिसक्नुभएको छ….
बलात्कारको कुरामा रौतहटमा त्यस्तै खालको (मानसिक सन्तुलन गुमाएको) मान्छेले तीन पटकसम्म सिरियल रेप गरेको छ । घटनाले देखाउँछ । बारामा त्यस्तै भयो । मगज अलि डिस्अर्डर टाइपको मान्छेले बलात्कार गरेको घटना आयो । त्यसर्थ यसले गर्छ र यस्तो भन्ने कुराको अनुमान गर्नुभन्दा पनि कसले गर्‍यो, त्यो कुरामा जान जरुरी छ ।
यस्तो कुरामा कसैले पुलिसले लुकाएर भन्ने एक प्रतिशत पनि तथ्य मचाहिँ मान्दिनँ । तल्लो लेभलमा भएका रहेछन् भने नचाहिने काम गर्नेलाई कारवाही हुन्छ । नभए पनि अर्को कुरा त खुल्न आउँछ आउँछ नि । व्यक्तिगतरुपमा त्यस्तो होला, तर संगठनले त अपराधीसँग सम्झौता गर्ने कुरा काहीँ पनि छैन ।
कतिपय अपराधीहरु कस्ता हुन्छन् भने दुनियाँ मुलुकहरुमा पनि यस्ता धेरै केसहरु रहेका हुन्छन् । एकैचोटि सबै खुल्दैनन्, कतिपय कम्प्लेक्स पनि हुन्छ कतिपय कुराहरु । जम्मा दुईजना हुन्छन्, त्यसमध्ये एउटाले होइन भनेपछि अर्को को हो त ? हो कि हैन भन्नेकुरा आजकल यातना दिएर गर्न हुन्न । टाइम कुर्नैपर्छ ।
हामीलाई अनुसन्धान गर्न कानूनले हामीलाई समय पनि दिएको छ नि, त्यो टाइम त हामीलाई दिनुपर्‍यो नि ।
यस्ता घटनाहरु पहिले पनि भएका छन् । कतिपय केसहरु १२/१४ वर्षपछि पत्ता लागेका केसहरु पनि छन् । कति त्यत्तिकै होलान् । तपाईले अमेरिकाका पनि देखिरहनुभएको छ नि । हिजोमात्रै त्यत्रो फायरिङ भयो अमेरिकामा ।
मतलव, नेपालमा अस्वाभाविक रुपमा अपराध बढेको होइन ?
अहिले म कुनै घटना भएको देख्दिनँ । योभन्दा हुन्छ ।
कसैलाई घरमा भएको बाबुले बलात्कार गरेको छ । काकाले गरेको छ । छिमेकीले गरेको छ । स्कुलको शिक्षकले गरेको छ । यो प्रहरीको दोष हुन सक्छ ? तर, यसमा अनुसन्धान गरेर मान्छेहरु पक्राउ भएका छन् । हामीले पक्राउ गरेर कानूनको दायरामा ल्याएका छौं ।
अहिले यस्ता घटनामा काहीँ पनि मिलापत्र हुँदैन । उजुरी दर्ता गरेर जानुपर्छ भन्ने कडा म्यासेज हामीले दिएका छौं । त्यो म्यासेज अनुसार मुद्दाहरु दर्ता हुने क्रम पनि बढेको छ ।
पहिलेजस्तो गाउँमा दुई/चारजना बसेर यसो मिलापत्र गरौं भन्ने सुनिन्थ्यो, अब मैले के भनेको छु भने यस्ता केसमा कुनै मोलाहिजा हुन्न, जसले गरेको हो, त्यो प्रहरीमा दर्ता भएर चल्नुपर्छ । अपराधीलाई कानूनको दायरामा ल्याउनुपर्छ । प्रहरी यसमा कडारुपमा लागेको छ ।
देशमा अपराध घट्दै छ कि बढ्दैछ त ?
यहाँले यस्सो हेर्दा गुण्डागर्दी देखिन्न । छ र ? छैन नि । तस्करी छैन सरकारले अहिले राजस्व बढेको छ भनेको छ । गुण्डागर्दी छैन । अरु मर्डर छैन । अरुखालका घटनाहरु छैनन् भनेपछि बढेको भन्ने त हामी काहीँ पनि देख्दैनौं नि ।
बलात्कारका घटना त बढिरहेका छन् नि ?
यो त सामाजिक संरचनाका कारणले पनि होला । केही पहुँचभन्दा बाहिरका कुराहरु छन् । कोही बाबुहरु नभएका, अभिभावकत्व नभएकाहरुसँग भएको छ ।
बलात्कारका केसहरु त पहिले पनि आएका थिए । तर, अहिले हामीले छोड्दैनौं । नछोडेपछि त मुद्दा दर्ता हुन आउँछ र डाटामा पनि देखिन्छ । तर, अपराधहरुमा कमी आएको छ । खाली कञ्चनपुर घटना, यस्ता खालका घटनाले त्यस्तो देखाएको हो ।
प्रहरीले ड्युटी राम्रैसित निभाइरहेको छ भन्दा हुन्छ ?
हामीले त निस्फिक्रीका साथ काम गरेका छौं । प्रहरीहरु सफल भएका छन् । विप्लवका त्यत्रा मान्छे पक्राउ परेका छन् । हामीले काम नगर्ने त कुरै छैन नि । त्यत्रो मान्छे पक्राउ गरेका छौं । प्रकाण्डदेखि लिएर १०/१२ जना पक्राउ गरिसक्यौं ।
अस्ति दुई/तीनपटक नेपाल बन्द गरे, कहाँ सफल भयो ? यो त प्रहरीकै हो नि त । कसले आएर गरेको हो ? मैले नै गरेको हो त भन्दिनँ । तर, सर्वेन्द्रको नेतृत्व आएपछि भएको हो त भन्न पाइयो होला नि । काम गरेकोमा जस पनि त दिनुपर्‍यो नि ।
तपाईलाई माओवादीसँग नजिक भन्ने आरोप छ नि ?
त्यो कसैको व्यक्तिगत होला । प्रष्टै के हो भने मलाई नेपाल सरकारले आइजीपी बनाएको हो । राम्रो गर्नका लागि बनाएको हो, म राम्रो काममात्रै गर्छु ।
माओवादी नजिक भन्ने नै भएन नि, उहाँ गृहमन्त्री हो । हामीले काम गर्ने गृहमन्त्रीज्यूसँग हो । गृह मन्त्रालयसँग हो । त्यसपछि आएर नेपाल सरकार प्रधानमन्त्रीज्यूसँग हो ।
नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यूले गरेपछि हामी उहाँसँग टाढा भन्ने कुरै छैन नि । नेपाल सरकारले राम्रोका लागि बनाएको हो, म राम्रै गर्छु ।
मलाई प्रधानमन्त्रीज्यूले नै आइजीपी बनाउनुभएको हो । क्याबिनेटले नचाहेको भए म हुने कुरा हुन्छ र ?
एसपी, एसएसपीसमेत गृहमन्त्रीका घरघरमा धाउने थालेका हुन् ?
कतिपय भेटहरु बोलाएर गरिएका होलान् । मैले सिधै गृहमन्त्रीकहाँ नजानोस् भन्नुभन्दा पनि आफ्नो कार्यक्षमता प्रदर्शन गर्नोस्, त्यसैका आधारमा मूल्यांकन हुन्छ भनेको छु ।
अर्को कुरा के हो भने त्यहाँ गएकै भरमा प्रमोसन भएको छैन । जाने कुरा उहाँहरुको भयो, तर दौडिएका भरमा कसैको मूल्यांकन भएको छैन । क्षमताकै आधारमा सबैको मूल्यांकन हुन्छ ।
एआइजीहरुको बढुवामा ढिलाइ भइरहेको गुनासो प्रधानमन्त्रीले समेत गरेको सुनियो…..
दरबन्दी कति राख्ने भन्ने सुरुमा आएन । दरबन्दी आइसकेपछि कार्यसम्पादन मूल्यांकनलाई कुर्नैपर्ने थियो । त्यो बाध्यात्मक अवस्था हो ।
कार्यसम्पादन मूल्यांकन साउनदेखि सुरु हुन्छ । त्यो आएपछि मात्रै बढुवा गर्नुपर्ने भएकाले यस्तो भएको हो । यसमा हामीले न्यूनतम समय त कुर्नैपर्ने हुन्छ । तर, अहिले धेरै कुर्नुपरेको होइन ।
योभन्दा पहिलेका बढुवाहरु धेरै रोकिएका थिए । तलका इन्स्पेक्टर, डीएसपीका सबै रोकिएका थिए ।
एआइजी त १६/१७ जना पहिल्यै भएका थिए । कति एआइजी राख्ने भन्ने टुंगो लागेको थिएन । कति एआइजी राख्ने भन्ने सरकारबाट निक्र्यौैल भएर आइसकेपछि कार्यसम्पादनको समय कुर्नेक्रममा एकाध महिना लागेको हो । योबाहेक ढिलो भएको छैन ।
योभन्दा पहिलेका आइजी साहेबहरुका पालामा त ७/८ महिनासम्म एआइजीको बढुवा रोकिएका थिए । खाली, अहिले हामीलाई देखाएमात्रै पनि त भएन नि । पहिले बिग्रिएका बेथितिहरुलाई हामीले अहिले थितिमा ल्याउनुपरेको छ ।

नेपाली विद्यार्थीका लागि अमेरिकी प्रोफेसरद्वारा छात्रवृत्ति घोषणा


अमेरिका / अमेरिकी प्रोफेसर डा. टड ह्वाइटले नेपालमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक विकास छात्रवृत्तिको घोषणा गरेका छन्। उनी अमेरिकाको न्यु मेक्सिकोस्थित युनिभर्सिटी अफ न्यु मेक्सिकोमा प्राध्यापनरत छन् ।
नेपाली विद्यार्थीहरूका माझ निकै नै लोकप्रिय रहेका ह्वाइटले नेपालमा विभिन्न कारणले विद्यालय जानबाट बञ्चित जेहेन्दार विद्यार्थीहरूलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने उनी आफू नेपाल जाने अत्यधिक चाहना भएको र छिट्टै नै यस्तै अन्य केही योजनाका साथ नेपाल जाने बताएका छन् ।
उक्त शैक्षिक बिकास छात्रवृत्तिलाई अझै बिकसित बनाइ नेपालभरी नै फैलाउने उक्त छात्रवृत्ति कोषका संरक्षक त्रिभुवन पाण्डेले बताए ।
साथै, कोषले प्राथमिक चरणमा स्याङ्जा जिल्लाका पाँच सामुदायिक विद्यालयमा अध्ययनरत पाँच/पाँच जेहेन्दार छात्रछात्रालाई सहयोग गर्ने पनि उनले जानकारी दिए ।

Monday, August 27, 2018

किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै


कञ्चनपु — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो ।
एक सातापछि खुलेको महेन्द्रनगर बजारमा सोमबार बिहान देखिएको चहलपहल । 



जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए । ‘उनीहरूबाट आवश्यक सूचना लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने अवस्थामा छैनौं ।’

एसपी कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । साताअघि जिल्ला प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन् । आन्दोलनपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई निलम्बन गरिएको छ ।
नयाँ अधिकारी आएपछि घटनाको पुन: प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ । ‘हामीलाई उच्चस्तरीय छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज र सहयोग पुग्नेछ ।’

स्थानीयले आन्दोलन चर्काएपछि गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि आवश्यक सूचना संकलनको काम गरिरहेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलपछि पीडित पक्ष, घटनास्थल, किशोरी पढ्न गएको घर र प्रहरीले सार्वजनिक गरेका व्यक्तिका परिवारसँग अवाश्यक सूचना संकलन गरिएको समिति संयोजक हरिप्रसाद मैनालीले बताए । ‘एक चरण सबैलाई भेटिसकेका छौं,’ उनले भने, ‘हामीहरू सूचना संकलनमै लागेका छौं, प्रहरीसँग पनि यस विषयमा सूचना लिइरहेका छौं ।’

सीआईबी टोली फर्कियो
घटनालगत्तै अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ । गत सोमबार अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको बताउँछन् ।

‘अनुसन्धान त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग सीआईबीले नै गर्नुपर्छ ।’ साउन ११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय सीआईबी टोली यहाँ आएको थियो ।

सामान्य बन्दै महेन्द्रनगर
गत सोमबार प्रहरीले अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेपछि चर्केको आन्दोलनपछि तनावग्रस्त बनेको महेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । प्रहरीले बिहीबार र शुक्रबार प्रदर्शनकारीमाथि गोली चलाउँदा झनै उग्र बनेको आन्दोलन लगातारको कफ्र्युपछि बजार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सहज हुँदै गएको छ ।

शुक्रबार राति ८ बजे सुरु कफ्र्यु आइतबार बिहानमात्रै केही घण्टाका लागि खुला गरिएको थियो । दिनभरि पुन: कफ्र्यु लगाएर साँझ केहीबेर खुला गरियो । सोमबार भने दिनभरि कफ्र्यु हटाइयो । यसअघि सोमबार दिउँसो कफ्र्यु लाग्ने निर्णय भए पनि अवस्था सहज बन्दै गएका कारण दिनभरि खुला गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । सोमबार साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय भएको उनले बताए । कफ्र्यु खुलेसँगै महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । करिब सातापछि बजार र यातायात खुलेको छ ।
SHARE TO CLICK ON FACEBOOK 


Posted by chander.
28-Aug-18