कञ्चनपु — कञ्चनपुरको भीमदत्त
नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा
शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद
थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार
म्याद थप गरिएको हो ।
जिल्ला
प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद
रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत
क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए । ‘उनीहरूबाट आवश्यक सूचना
लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने
अवस्थामा छैनौं ।’
एसपी
कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे
पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । साताअघि जिल्ला
प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक
गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन् । आन्दोलनपछि गृह
मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर
नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज
विष्टलाई निलम्बन गरिएको छ ।
नयाँ
अधिकारी आएपछि घटनाको पुन: प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ । ‘हामीलाई उच्चस्तरीय
छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज
र सहयोग पुग्नेछ ।’
स्थानीयले
आन्दोलन चर्काएपछि गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि आवश्यक सूचना
संकलनको काम गरिरहेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलपछि पीडित पक्ष, घटनास्थल, किशोरी पढ्न गएको घर र
प्रहरीले सार्वजनिक गरेका व्यक्तिका परिवारसँग अवाश्यक सूचना संकलन गरिएको समिति
संयोजक हरिप्रसाद मैनालीले बताए । ‘एक चरण सबैलाई भेटिसकेका
छौं,’ उनले भने, ‘हामीहरू सूचना संकलनमै
लागेका छौं, प्रहरीसँग
पनि यस विषयमा सूचना लिइरहेका छौं ।’
सीआईबी
टोली फर्कियो
घटनालगत्तै
अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको
अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ । गत सोमबार अभियुक्तका
रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा
यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको
बताउँछन् ।
‘अनुसन्धान
त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग
गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग
सीआईबीले नै गर्नुपर्छ ।’ साउन
११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय
सीआईबी टोली यहाँ आएको थियो ।
सामान्य
बन्दै महेन्द्रनगर
गत
सोमबार प्रहरीले अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेपछि चर्केको आन्दोलनपछि
तनावग्रस्त बनेको महेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । प्रहरीले बिहीबार र
शुक्रबार प्रदर्शनकारीमाथि गोली चलाउँदा झनै उग्र बनेको आन्दोलन लगातारको
कफ्र्युपछि बजार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सहज हुँदै गएको छ ।
शुक्रबार
राति ८ बजे सुरु कफ्र्यु आइतबार बिहानमात्रै केही घण्टाका लागि खुला गरिएको थियो । दिनभरि पुन: कफ्र्यु
लगाएर साँझ केहीबेर खुला गरियो । सोमबार भने दिनभरि
कफ्र्यु हटाइयो । यसअघि सोमबार दिउँसो कफ्र्यु लाग्ने निर्णय भए पनि अवस्था
सहज बन्दै गएका कारण दिनभरि खुला गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उदयराज
जोशीले बताए । सोमबार साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु
लगाउने निर्णय भएको उनले बताए । कफ्र्यु खुलेसँगै
महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । करिब सातापछि बजार र
यातायात खुलेको छ ।
![]() |
SHARE TO CLICK ON FACEBOOK |
Posted by chander.
28-Aug-18
No comments:
Post a Comment