१२ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र
खनालले देशमा अपराधका घटनामा कमी आएको र नेपाल प्रहरी मजबुत हुँदै गएको बताएका छन्
। समाजमा हुने बलात्कार लगायतका केसलाई लिएर प्रहरीमाथि दोष लगाउन नमिल्ने खनालको
तर्क छ ।
कुनै
व्यक्ति दोषी हो कि होइन भन्ने विषयमा प्रहरीले नै अनुसन्धान गर्ने बताउँदै
महानिरीक्षक खनालले भने ‘बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?’
कञ्चनपुर घटनाको प्रशंगमा कुरा गर्दा
आइजीपी खनालले मानसिक रोगीले कुनै अपराध गर्न सक्दैन भनेर अनुमान लगाउन नमिल्ने
बताए ।
‘प्रहरीले गर्ने
अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन’, आईजीपी खनालले भने, ‘अहिले प्रहरीले गर्ने अनुसन्धानमा शंकास्पद मान्छेको
स्टेटमेन्ट नै लिइएन भने कोसँग जाने त ?’
आइजीपी
खनालले एआईजीहरुको बढुवामा ढिलाइ नभएको बताए । उनले कुनै पनि प्रहरीको प्रमोशन
नेतालाई भेटेका आधारमा नभएर उसको कार्यक्षमताका आधारमा गरिने बताए ।
सामयिक
विषयमा आईजीपी खनालसँग अनलाइखबरले गरेको कुराकानीः
अहिले प्रहरी संगठन कमजोर हुँदै गएको
हो ?
विल्कुलै
होइन । धेरै मजबुद भएर गएको छ । पहिले भएका कमजोरीहरु पनि सबै ट्रयाकमा आएका छन् ।
यसको अनुभूति नै भएको छ नि । तर, सामाजिक रुपमा भएका घटनाहरुलाई लिएर मानिसहरुले प्रश्नहरु
उठाएको हुन सक्छ ।
तर, अपराध अनुसन्धानमा प्रहरीको लापरवाही
देखिन थाल्यो भन्ने गुनासाहरु आएका छन्, यस्तो किन भएको ?
प्रहरीले
गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन । कसैले गर्न जरुरी पनि छैन ।
अहिले प्रहरीले गर्ने अनुसन्धानमा कसैलाई आएका सबुद प्रमाणका आधारमा हेर्दै गरेर
जाने हो । कोही मान्छेलाई शंकास्पद छ र स्टेट्मेन्ट नै लिइएन भने कोसँग जाने त ? स्टेटमेन्टका आधारहरु पनि भेरिभाई
गर्नुपर्ने हुन्छ । तर, यो अपराधी होइन, योचाहिँ हो भन्न त अरुको कसरी अधिकार होला र फेरि ? बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?
कञ्चनपुरको
हकमा प्रहरीले गरेको अनुसन्धानमा सीआइबीको टोली पनि टाइममै गएको छ । त्यसलाई एकदमै
उच्च प्राथमिकता दिएरै हेरेको छ ।
कुनै
प्रहरीले काहीँकतै गडबडी गरेको भए स्पष्टरुपमा ठाउँको ठाउँ कारवाही हुन्छ । यसमा
नेपाल प्रहरी संगठनको कमजोरी छ भन्ने मलाई लाग्दैन ।
कञ्चनपुरको केसमा प्रहरीले आलोचित
हुनुपर्यो नि, हैन ? यद्यपि, सरकारले एसपीलाई
निलम्बन गरिसक्यो । तपाईहरुले डीएसपी र इन्स्पेक्टरलाई हेडक्वार्टरमा
तानिसक्नुभएको छ….
बलात्कारको
कुरामा रौतहटमा त्यस्तै खालको (मानसिक सन्तुलन गुमाएको) मान्छेले तीन पटकसम्म
सिरियल रेप गरेको छ । घटनाले देखाउँछ । बारामा त्यस्तै भयो । मगज अलि डिस्अर्डर
टाइपको मान्छेले बलात्कार गरेको घटना आयो । त्यसर्थ यसले गर्छ र यस्तो भन्ने
कुराको अनुमान गर्नुभन्दा पनि कसले गर्यो, त्यो कुरामा जान जरुरी छ ।
यस्तो
कुरामा कसैले पुलिसले लुकाएर भन्ने एक प्रतिशत पनि तथ्य मचाहिँ मान्दिनँ । तल्लो
लेभलमा भएका रहेछन् भने नचाहिने काम गर्नेलाई कारवाही हुन्छ । नभए पनि अर्को कुरा
त खुल्न आउँछ आउँछ नि । व्यक्तिगतरुपमा त्यस्तो होला, तर संगठनले त अपराधीसँग सम्झौता गर्ने
कुरा काहीँ पनि छैन ।
कतिपय
अपराधीहरु कस्ता हुन्छन् भने दुनियाँ मुलुकहरुमा पनि यस्ता धेरै केसहरु रहेका
हुन्छन् । एकैचोटि सबै खुल्दैनन्, कतिपय कम्प्लेक्स पनि हुन्छ कतिपय कुराहरु । जम्मा दुईजना
हुन्छन्, त्यसमध्ये
एउटाले होइन भनेपछि अर्को को हो त ? हो कि हैन भन्नेकुरा आजकल यातना दिएर गर्न हुन्न । टाइम
कुर्नैपर्छ ।
हामीलाई
अनुसन्धान गर्न कानूनले हामीलाई समय पनि दिएको छ नि, त्यो टाइम त हामीलाई दिनुपर्यो नि ।
यस्ता
घटनाहरु पहिले पनि भएका छन् । कतिपय केसहरु १२/१४ वर्षपछि पत्ता लागेका केसहरु पनि
छन् । कति त्यत्तिकै होलान् । तपाईले अमेरिकाका पनि देखिरहनुभएको छ नि ।
हिजोमात्रै त्यत्रो फायरिङ भयो अमेरिकामा ।
मतलव, नेपालमा
अस्वाभाविक रुपमा अपराध बढेको होइन ?
अहिले म
कुनै घटना भएको देख्दिनँ । योभन्दा हुन्छ ।
कसैलाई
घरमा भएको बाबुले बलात्कार गरेको छ । काकाले गरेको छ । छिमेकीले गरेको छ । स्कुलको
शिक्षकले गरेको छ । यो प्रहरीको दोष हुन सक्छ ? तर, यसमा अनुसन्धान गरेर मान्छेहरु पक्राउ भएका छन् । हामीले
पक्राउ गरेर कानूनको दायरामा ल्याएका छौं ।
अहिले
यस्ता घटनामा काहीँ पनि मिलापत्र हुँदैन । उजुरी दर्ता गरेर जानुपर्छ भन्ने कडा
म्यासेज हामीले दिएका छौं । त्यो म्यासेज अनुसार मुद्दाहरु दर्ता हुने क्रम पनि
बढेको छ ।
पहिलेजस्तो
गाउँमा दुई/चारजना बसेर यसो मिलापत्र गरौं भन्ने सुनिन्थ्यो, अब मैले के भनेको छु भने यस्ता केसमा
कुनै मोलाहिजा हुन्न, जसले गरेको हो, त्यो प्रहरीमा दर्ता भएर चल्नुपर्छ । अपराधीलाई कानूनको
दायरामा ल्याउनुपर्छ । प्रहरी यसमा कडारुपमा लागेको छ ।
देशमा अपराध घट्दै छ कि बढ्दैछ त ?
यहाँले
यस्सो हेर्दा गुण्डागर्दी देखिन्न । छ र ? छैन नि । तस्करी छैन सरकारले अहिले राजस्व बढेको छ भनेको छ
। गुण्डागर्दी छैन । अरु मर्डर छैन । अरुखालका घटनाहरु छैनन् भनेपछि बढेको भन्ने त
हामी काहीँ पनि देख्दैनौं नि ।
बलात्कारका घटना त बढिरहेका छन् नि ?
यो त
सामाजिक संरचनाका कारणले पनि होला । केही पहुँचभन्दा बाहिरका कुराहरु छन् । कोही
बाबुहरु नभएका,
अभिभावकत्व
नभएकाहरुसँग भएको छ ।
बलात्कारका
केसहरु त पहिले पनि आएका थिए । तर, अहिले हामीले छोड्दैनौं । नछोडेपछि त मुद्दा दर्ता हुन आउँछ
र डाटामा पनि देखिन्छ । तर, अपराधहरुमा कमी आएको छ । खाली कञ्चनपुर घटना, यस्ता खालका घटनाले त्यस्तो देखाएको हो
।
प्रहरीले ड्युटी राम्रैसित निभाइरहेको
छ भन्दा हुन्छ ?
हामीले त
निस्फिक्रीका साथ काम गरेका छौं । प्रहरीहरु सफल भएका छन् । विप्लवका त्यत्रा
मान्छे पक्राउ परेका छन् । हामीले काम नगर्ने त कुरै छैन नि । त्यत्रो मान्छे
पक्राउ गरेका छौं । प्रकाण्डदेखि लिएर १०/१२ जना पक्राउ गरिसक्यौं ।
अस्ति
दुई/तीनपटक नेपाल बन्द गरे, कहाँ सफल भयो ? यो त प्रहरीकै हो नि त । कसले आएर गरेको हो ? मैले नै गरेको हो त भन्दिनँ । तर, सर्वेन्द्रको नेतृत्व आएपछि भएको हो त
भन्न पाइयो होला नि । काम गरेकोमा जस पनि त दिनुपर्यो नि ।
तपाईलाई माओवादीसँग नजिक भन्ने आरोप छ
नि ?
त्यो
कसैको व्यक्तिगत होला । प्रष्टै के हो भने मलाई नेपाल सरकारले आइजीपी बनाएको हो ।
राम्रो गर्नका लागि बनाएको हो, म राम्रो काममात्रै गर्छु ।
माओवादी
नजिक भन्ने नै भएन नि, उहाँ गृहमन्त्री हो । हामीले काम गर्ने गृहमन्त्रीज्यूसँग
हो । गृह मन्त्रालयसँग हो । त्यसपछि आएर नेपाल सरकार प्रधानमन्त्रीज्यूसँग हो ।
नेपाल
सरकारको नेतृत्व प्रधानमन्त्रीज्यूले गरेपछि हामी उहाँसँग टाढा भन्ने कुरै छैन नि
। नेपाल सरकारले राम्रोका लागि बनाएको हो, म राम्रै गर्छु ।
मलाई
प्रधानमन्त्रीज्यूले नै आइजीपी बनाउनुभएको हो । क्याबिनेटले नचाहेको भए म हुने
कुरा हुन्छ र ?
एसपी, एसएसपीसमेत
गृहमन्त्रीका घरघरमा धाउने थालेका हुन् ?
कतिपय
भेटहरु बोलाएर गरिएका होलान् । मैले सिधै गृहमन्त्रीकहाँ नजानोस् भन्नुभन्दा पनि
आफ्नो कार्यक्षमता प्रदर्शन गर्नोस्, त्यसैका आधारमा मूल्यांकन हुन्छ भनेको छु ।
अर्को
कुरा के हो भने त्यहाँ गएकै भरमा प्रमोसन भएको छैन । जाने कुरा उहाँहरुको भयो, तर दौडिएका भरमा कसैको मूल्यांकन भएको
छैन । क्षमताकै आधारमा सबैको मूल्यांकन हुन्छ ।
एआइजीहरुको बढुवामा ढिलाइ भइरहेको
गुनासो प्रधानमन्त्रीले समेत गरेको सुनियो…..
दरबन्दी
कति राख्ने भन्ने सुरुमा आएन । दरबन्दी आइसकेपछि कार्यसम्पादन मूल्यांकनलाई
कुर्नैपर्ने थियो । त्यो बाध्यात्मक अवस्था हो ।
कार्यसम्पादन
मूल्यांकन साउनदेखि सुरु हुन्छ । त्यो आएपछि मात्रै बढुवा गर्नुपर्ने भएकाले यस्तो
भएको हो । यसमा हामीले न्यूनतम समय त कुर्नैपर्ने हुन्छ । तर, अहिले धेरै कुर्नुपरेको होइन ।
योभन्दा
पहिलेका बढुवाहरु धेरै रोकिएका थिए । तलका इन्स्पेक्टर, डीएसपीका सबै रोकिएका थिए ।
एआइजी त
१६/१७ जना पहिल्यै भएका थिए । कति एआइजी राख्ने भन्ने टुंगो लागेको थिएन । कति
एआइजी राख्ने भन्ने सरकारबाट निक्र्यौैल भएर आइसकेपछि कार्यसम्पादनको समय
कुर्नेक्रममा एकाध महिना लागेको हो । योबाहेक ढिलो भएको छैन ।
योभन्दा
पहिलेका आइजी साहेबहरुका पालामा त ७/८ महिनासम्म एआइजीको बढुवा रोकिएका थिए । खाली, अहिले हामीलाई देखाएमात्रै पनि त भएन
नि । पहिले बिग्रिएका बेथितिहरुलाई हामीले अहिले थितिमा ल्याउनुपरेको छ ।